नेपाल एसिया महादेश अन्तर्गत पर्दछ । यसै देशको ७७ ओटा जिल्लामध्ये कञ्चनपुर जिल्ला अवस्थित नौ ओटा पालिकामध्ये पुनर्वास नगरपालिकाको वडा नं. ९ तत्कालिन परासन गा.वि.स. वडा नं. ५ स्थित पूर्व तर्फ भारतको उत्तर प्रदेशको प्रख्यात दुधवा राष्ट्रिय निकुञ्ज, पश्चिममा सीतावस्ती र पृथ्वीवस्तीको साझा सामुदायिक वन, उत्तर तर्फ धेरै उत्पादन गर्न सकिने उर्वर भूमी कृतिपुर र दक्षिणतर्फ नेपालकै प्रख्यात ताल प्याराताल रहेको विचफाटा भन्ने ठाउँ रहेको छ । यहाँका अधिकांश मानिसहरु कृषि पेशा तथा बैदेशिक रोजगारमा निहित रहेका छन् । विद्यालयको स्थापनाकालमा यहाँ तीन सय घर धुरी रहेका थिए । नेपालमा भई रहने विभिन्न प्राकृतिक प्रकोपहरुले आफ्नो सम्पूर्ण अचल–चल सम्पती गुमाई सकेका मानिसलाई उचित बस्ने ठाउँ दिनकालागी वझाङ्ग, डाटी, बाजुरा तथा अन्य ठाउँका मानिसलाई पनि तत्कालीन श्री ५ को सरकारले सुरक्षित वास स्थान को खोजी गर्दै यस ठाउँमा वासस्थानलाई पुन: दोहोर्याउने उद्वेश्यले माथि उल्लिखित जिल्ला लगायत अन्य बैतडी, डडेल्धुरा, स्याङजा जिल्लाका मानिसको पनि यस ठाउँमा बसोवास गराएको पाइन्छ । यस ठाउँमा बसोवास गरेपछि यहाँको गाउँमा एउटा विद्यालय को परिकल्पना गरी मिति २०२९/०७/२९ गते मंगलवारका दिन तत्कालीन समाजसेवी तथा उपप्रधानपञ्च स्वर्गीय सन्यासी खत्री, समाजसेवी स्वर्गीय करु खाती, समाजसेवी स्वर्गीय राइभान सुनार, समाजसेवी स्वर्गीय अर्जुन सिँह महरा, समाजसेवी स्वर्गीय सेर सिँह सुनार, समाजसेवी स्वर्गीय प्रसादे कटुवाल, समाजसेवी स्वर्गीय जय वहादुर टमाटा, समाजसेवी स्वर्गीय रुप भण्डारी, समाजसेवी श्री प्रकास खाती जो स्थापनाकाल देखि मिति २०३५ साल सम्म यस विद्यालयको शिक्षक भएर पनि काम गर्नु भयो र तत्कालीन परासन प्रधानपञ्च दिनवन्धु अर्याल, पुनर्वास कम्पनिका तत्कालीन प्रमुख वुद्वि बहादुर बुढाथोकी र सुब्बा मोहन मल्ल ज्यू को सल्लाहामा यस विद्यालयको नाम श्री जीवनशक्ति राष्ट्रिय प्राथमिक विद्यालय भनि खोलिएको हो ।
मिति २०२९ साल कार्तिक २९ गते स्थापना भएको यस विद्यालयमा स्थापनाको समयमा छात्र ६५ जना र छात्रा ६ जना गरी गाउँको सहयोगमा काठका खम्बा बनाई माथि पाखो खरले छाई १ कक्षा देखि ३ कक्षा सम्मको पढाई थालनी गरिएको हो । जसको स्थापनाकालका प्र.अ. दाताराम भण्डारी, शिक्षक दलजित विष्ट र प्रकास खाती गरी तिनजना स्टाफको संलग्नतामा यस विद्यालयमा पढाईको थालनी गरिएको हो । मिति २०३१ साल मंसिर महिनामा तत्कालीन श्री ५ को सरकारबाट यस विद्यालयले स्वीकृत प्राप्त गरी पछि मिति २०३७ सालमा कक्षा ५ सम्मको अनुमति पाई यो विद्यालय प्राथमिक पूर्ण रुपमा सञ्चालन भई आएको हो । यस विद्यालयमा कार्यरत शिक्षकमध्ये दाताराम भण्डारी ज्यू अन्य विद्यालयमा सरुवा भई गएपछि तत्कालीन शिक्षक र वि.व्य.स. को निर्णय अनुसार मिति २०३१ सालमा बुद्वि प्रसाद सुवेदीलाई प्र.अ. पदमा नियुक्ती गरियो र पछि वि.स. २०३५ सालमा बुद्वि प्रसाद सुवेदी अन्यत्र सरुवा भई गएपछि वि.व्य.स. तत्कालीन अध्यक्ष श्री सन्यासी खत्री लगायतको समितिले श्री पूर्ण जँगगिरी लाई यस विद्यालयको प्र.अ. पदमा नियुक्ती गरियो । पछि श्री पूर्ण जँगगिरीले राजनैतिक पेशा अंगालेपछि यस विद्यालयको प्र.अ. पदमा श्री रामसोगारथ शाहलाई मिति २०३६ सालमा नियुक्ती गरियो र उक्त समयमा विद्यालयको प्रस्त भएकोले र आम्दानी पनि राम्रो भएकोले पाँच कोठाको ईटा र माटोको गारो बनाई घर बनाइयो र विद्यार्थीलाई कच्ची घरबाट ईटाको घरमा बस्ने व्यवस्था गरियो । मिति २०४४ सालमा रामसोगारथ शाहले प्र.अ. वाट राजीनामा दिई अन्यत्र सरुवा भई जानुभएपछि यस विद्यालयका अध्यक्ष गणेश दत्त न्यौपाने को वि.व्य.स. वाट विद्यालयको प्र.अ. पदमा श्री रामसिँह साउँदलाई नियुक्ती गरियो । मिति २०४६ सालमा श्री रामसिँह साउँदले राजिनामा दिएपछि वि.व्य.स. ले श्री कृष्णबहादुर खत्रीलाई प्र.अ. मा नियुक्ती गरियो र मिति २०५१ सालमा देवनारायण भट्ट को अध्यक्षतामा नयाँ वि.व्य.स. गठन गरी विद्यालयमा सरकारबाट पहिलो २ कोठे पक्कि भवनको निर्माण गरियो ।
मिति २०५३ सालमा वीर वहादुर वोहराको अध्यक्षतामा समिति गठन भई विद्यालय निरन्तर सञ्चालनमा रह्यो । विद्यालयको भवन जिर्ण अवस्थामा रहेकोले तत्कालीन वि.व्य.स. का अध्यक्ष श्री हरि सुनार ज्यू को पहल तथा तत्कालीन यस विद्यालयका शिक्षक श्री तोय प्रसाद शर्मा ज्यू को प्रयास वाट दिवाल पक्कि र माथि टिन हालेको ५ काठे भवन RRN संस्था सँग माग गरी स्थापना गरियो । जसको सहयोगले विद्यार्थीलाई पानी र घामबाट बचाई सजिलै सँग शिक्षा दिन थालियो । वि.स. २०५८ सालमा यस विद्यालयका तत्कालीन प्र.अ. कृष्णबहादुर खत्रीले राजिनामा दिएपछि यस विद्यालयका शिक्षक श्री दलजित विष्टलाई प्र.अ. पदमा नियुक्ती गरियो यसै गरी विद्यालयका विभिन्न समिति बन्ने क्रममा मिति २०६३ सालमा रामबहादुर खड्काको अध्यक्षतामा नयाँ वि.व्य.स. गठन गरी विद्यालयलाई निरन्तरता दिदै गए । मिति २०६६ सालमा अध्यक्ष नर बहादुर वि.क. को वि.व्य.स. ले तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट कक्षा ८ सम्मको स्वीकृत प्राप्त गरी नि.मा.वि. सञ्चालन गरियो । मिति २०६७ सालमा यस विद्यालयका प्र.अ. श्री दलजित विष्टको असहायमिक निधन भएपछि यस विद्यालयका शिक्षक श्री आनन्दसिँह क्षेत्रीलाई वि.व्य.स. अध्यक्ष श्री नर बहादुर वि.क. ज्यू को वि.व्य.स.ले प्र.अ. पदमा नियुक्ती गरियो । कक्षा ६ सम्मको पढाई सञ्चालन भईसकेपछि कक्षा कोठाको पनि आवश्यकता बढ्न गयो । तत्कालिन वि.व्य.स. अध्यक्ष श्री नर बहादुर वि.क. र शिक्षक श्री तोय प्रसाद शर्मा ज्यू को अथक प्रयास र यस विद्यालयको सेवा क्षेत्र भित्र रहेका सम्पूर्ण राजनीतिक, समाजसेवी अभिभावक, शिक्षकहरु को सहयोगमा RRN संस्था सँग माग गरी २ कोठे पक्कि भवनको निर्माण गरियो । जसले गर्दा विद्यार्थीको पढाई प्रती राम्रो वातावरणमा हुन गई कक्षा काठाको संख्या बढ्न गयो । पुनः नर बहादुर वि.क ज्यू को वि.व्य.स. र यस विद्यालयका तत्कालीन शिक्षक तोय प्रसाद शर्माको अथक प्रयासले जिल्ला शिक्षा कार्यालय वाट तीन भवन दुई–दुई कोठाको गरी ६ वटा कोठा निर्माण गरियो । जसले गर्दा विद्यालयमा कोठाको मात्रा सन्तुलन हुन गयो । तर वि.स. २०७५ सालको हावाले पुरानो RRN ले निर्माण गरेको भवन हावाले उडाएपछि पुनः विद्यालयमा पक्कि छतवाला भवनको महसुस गर्न थालियो र विद्यार्थीहरु कोठाबाट वञ्चित हुन पुगे ।
विद्यालयको संरक्षण गर्ने प्रयासमा यस विद्यालयका तत्कालीन शिक्षक तोय प्रसाद शर्मा ज्यू को पहलमा च्यानल सहितको पक्कि गेटको निर्माण गरियो । मिति २०७५ सालमा नर बहादुर वि.क ज्यू रहेको वि.व्य.स. ले सामाजिक विकास मन्त्रालय सुदुरपश्चिम सरकार सँग भवन माग गरियो र तत्कालीन सुदुपश्चिम प्रदेश सरकारका कञ्चनपुर जिल्ला क्षेत्र नं. १ का माननीय सांसद तारालामा तामाङ ज्यू वाट ४ कोठे भवन का लागी सुदुरपश्चिम प्रदेश सरकार वाट वजेट विनियोजन गर्नुभयो तर विश्व महामारी कोरोनाले गर्दा उक्त भवन एक चौथाई मात्र सम्पन्न हुन पुग्यो र पछि आ.व. २०७८÷२०७९ को छुट रकम तत्कालीन सुदुपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट ज्यू को प्रयासवाट र सामाजिक विकास मन्त्रालयवाट क्रमागत वजेट हाल नलगाई अधुरो भवन पुरा गरियो । वि.स. २०७८ सालमा यस विद्यालयले विल्डअन नेपाल संस्था सँग तीन कोठे पक्कि भवन र दुई कोठे शौचालयको माग गरी वि.व्य.स., पुनर्वास न.पा. र विल्डअन नेपाल संस्थाको संयुक्त साझेदारीमा तीन कोठे पक्कि भवन र दुई कोठे शौचालयको निर्माण सम्पन्न गरियो र पुनः सामाजिक विकास कार्यालय महेन्द्रनगर लाई यस विद्यालयको वि.व्य.स. ले पुनः दुई कोठे भवन माग गरी आ.व. २०७८÷२०७९ को वजेट वाट सामाजिक विकास कार्यालय महेन्द्रनगर अन्तर्गत २ कोठे भवनको काम लगभग ८० प्रतिशत सम्पन्न गरियो । हाल यस विद्यालय क्षेत्रमा घरधुरीको संख्या १२०० सम्म रहेको र ३८७ जना बालबालिकाहरु अध्यानरत छन् साथै शिक्षकको संख्या ११ र कर्मचारीको संख्या ३ जना गरी जम्मा १४ जना छन ।